2020-07-27

कसरी चल्दै छ, नागरिकले पढ्न पाउने नेपालको पहिलो पाठाशाला ?

विराटनगर । साबिकको केउरेनीपानी गाबिस वडा नम्बर ७ मा १९३२ सालमा  सर्बसाधारणले पढ्न पाउनेगरी एउटा बिद्यालयको स्थापना भयो । हालको भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ४ दिङ्लाबजारमा अबस्थित बिद्यालयको स्थापना हुँदै गर्दा देशमा सर्बसाधारणको लागि पढ्न पाउने कुनैपनि त्यस्ता बिद्यालयहरु थिएनन् । यो बेलासम्म सर्बसाधारणको लागि पढ्न पाउने कुरै थिएन । राजा महाराजाका छोरा छोरी मात्र पढ्नको लागि दरबार हाईस्कुल एउटा मात्र बिद्यालय बनाईएको थियो ।  तर ती बिद्यालयसम्म सर्बसाधारणका छोराछोरीले पढ्दै पाउँदैन थे ।  त्यही बेला दिङ्ला सभ्यताका  प्रवर्तक आवाल ब्रम्हाचारी षडानन्द एउटा  शिक्षा क्षेत्रका पं्रवद्र्धक भएर देखिए । नेपालकै जनस्तरबाट संचालित पहिलो पाठशाला संस्थापक समाज सुधारक शिक्षासेवी आवाल ब्रम्हाचारी षडानन्द गुरुले वि.सं. १९३२ मा  कैलाशडाँडामा षडानन्द संस्कृत पाठशाला संचालनमा ल्याए  र बि.सं. १९५५ सालमा यो बिद्यालय भज्याङमा सारिएपछि दिङ्लाको ऐतिहासिक महत्व झन बढेको स्थानीयहरु बताउँछन्  । नेपालकै पहिलो संस्कृत पाठशालाले नेपालको एउटा सिङ्गो ईतिहाँस बोकेको छ । यहाँको संस्कृत शिक्षा अध्ययनको लागि ‘कि काँशी जानु कि दिङ्ला जानु’ भन्ने लोकोक्ति पनि हाँसिल गर्यो।


माओवादीको सशस्त्र द्वन्द हुनुभन्दा पहिला यो पाठाशाला संस्कृत शिक्षाको एउटा उद्गम थलो थियो जहाँ देशभरीका धेरै जिल्लाका बिद्यार्थी आएर पढ्थे । जब सशस्त्र द्धन्द शुरु भयो अनि गाउँमा संस्कृत पठन पाठनमा अबरोधहरु हुन थाले । माओवादीले संस्कृत पढाउने बिद्यालय बन्द गराउने, संस्कृतको किताव च्यात्ने, जलाउने जस्ता काम हुन थाले ।  वि.सं. १९३२ मा षडानन्द संस्कृत पाठाशालाको नाममा शुरु भएको माध्यामिक बिद्यालय २०५८ सालदेखि षडानन्द माबिको रुपमा नाम परिवर्तन गर्नुपर्ने अबस्थामा पुग्यो ।

बि.सं.२०५८ सालसम्म संस्कृत धारमा संचालन रहेको बिद्यालय त्यही बेलादेखि संस्कृत भाषाको  पठनपाठनको धार छाडेर साधारण धारमा  आएको बिद्यालयका सहायक प्रधानाध्यापक डम्बर बिष्टले जानकारी दिनुभयो । अहिलेका सहायक प्रधानाध्यापक २०५८ सालमा त्यही बिद्यालयको कक्षा ८ का बिद्यार्थी हुनुहुन्थ्यो ।

माओवादीले त्यो बेला साह्रै दुख दिएपछि नामै परिवर्तन गर्नुपर्ने अबस्थामा पुगेको उहाँ सम्झनुहुन्छ । हामी बिद्यालयमा आएर पढेका हुन्थ्र्यौँ, माओवादीको नाममा धेरै ब्यक्तिहरु आएर धम्क्याउने तर्साउने र किताव समेत जलाउने गरेपछि बिद्यलयले संस्कृत पढाउन छाडेको उहाँको अनुभव छ, । कक्षा ८ को परीक्षा दिँदै गर्दा सबै प्रश्न पत्रहरु खोसेर लगिएको समेत उहाँले सुनाउनुभयो ।

हराएको संस्कृत शिक्षा
षडानन्द संस्कृत पाठशाला सबैले चिनेको पाठाशाला हो ।  शुरुमा कैलाश डाँडामा रहेको पाठाशाला नयाँ संरचना निमाण सँगै करिब ३ सय मिटरको दुरीमा रहेको मन्दिर परिसरमा सारियो । संस्कृत शिक्षालाई पहिलो प्राथमिकतामा राखेर पठनपाठन हुने यो बिद्यालय राणाकालिन समयमा सर्बसाधारणको छोराछोरीलाई पढ्न पाउने नेपालकै पहिलो विद्यालयको रुपमा लिईन्छ । संस्कृत भाषाको पढाई हुने तर त्यो समयमा पनि सबै जातजाती, महिला पुरुषकोे उपस्थितीमा पढाईहुन्थ्यो ।  सबैल पढ्न पाउनु पर्छ भन्ने उदेश्यले यहाँ सबै जातजाती, धर्म बर्ग र समुदायका  आएर अध्ययन गर्थे ।

यस संस्कृत पाठशालामा तत्कालीन समयमा पश्चिम नेपालका गुल्मी, सल्यान, प्युठानसम्म र छिमेकी मुलुक भारतको सिक्किम तथा आसामबाट समेत विद्यार्थी गुरुकुल शिक्षा लिन आउने गरेका थिए ।  तर अहिले संस्कृत शिक्षा ऐच्छिक बिषयको रुपमा कक्षा ६, ७ र ८ मा मात्र  पढाई हुँदै आएको छ ।  बिद्यालयले दिएको तथ्यांक अनुसार बि.सं. २०७६ सालमा  कुल ६४८ जना बिद्यार्थीहरु मध्ये २३ जनाले मात्र संस्कृत शिक्षा ऐच्छिक बिषयको रुपमा रोजेका छन्  ।  २०५८ सालदेखि बन्द भएको संस्कृत शिक्षा २ बर्ष पहिलादेखि ऐच्छिक बिषयको रुपमा शुरु भएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशब श्रेष्ठका अनुसार यो बिद्यालयमा पढाउने शिक्षकले २०५० सालसम्म पनि पारिश्रमिकको रुपमा धान पाउने गरेका थिए । अनी बिद्यार्थीहरुलाई पनि धान नै छात्रबृति दिने गरिन्थ्यो । बिद्यालयको जग्गाबाट नै ४–५ सय मुरी धान फल्ने ठाउँ रहेको थियो र धान दिने गरिएको थियो, उहाँले भन्नुभयो, अहिले ती जग्गाहरु सबै बाँझै छ ।   भएको जग्गा पनि गुँठीको भोगचलनमा रहेको  छ ।

बिद्यालयबाट टाढिँदै गएको गुँठी
बि.सं. १९३२ बाट शुरु भएको यो बिद्यालय २०१४ सालसम्म गुँठी माताहतमा रहेर चल्यो ।   त्यसयता बिद्यालय र गुँठी आफ्नै धारमा अगाडी बढ्न थाले । २०३६ सालको नापीले गुठीको जग्गा बिद्यालयको नाममा दर्ता भयो । दुई बर्षपहिलासम्म पनि कुनै तथ्यांक नभएको गुठीँले अहिले केही तथ्यांक सकलन गर्न थालेको छ । गुँठी समितीका अध्यक्ष कृष्णप्रसाद पौडेलले  बुढापाकालाई सोधेर तथ्यांक राख्न थालिएको बताउनुभायो ।

गुठीले पुर्ण स्वामित्व लिएर बिद्यालय चलाउने काम २०१३ सालसम्म भएको थियो । २०१३ साल पछि केही सरकारी अनुदान आयो त्यही अनुदान र गुँठिको सहयोगबाट २०३१ सालसम्म संचालन भएपछि बिद्यालय पुर्ण सरकारी भएको अध्यक्ष पौडेलले बताउनुभयो । बि. सं.  २०५१÷०५२ सम्म गुठीले धान दिँदै आएको भएपनि त्यस यता धान दिनु परेको छैन, पौडेलले भन्नुभयो ।

पौडेलका अनुसार, विश्व मै अंग्रेजीको प्रभाव परेको, संस्कृत रोजगार मुलक भएन, यो बाहुनले मात्र पढ्ने र कर्मकाण्डी हो भनेर बुझाई हुन थालेपछि संस्कृत शिक्षाको बिरोध भयो ।   त्यहीँ नजिकै साधारण धारको अर्को बिद्यालय पनि खुल्यो । अब एकै ठाउँमा अरुण माध्यामिक बिद्यालय र षडानन्द संस्कृत पाठाशाला भए ।  षडानन्द संस्कृत पाठाशालाले बि.सं. २०३५ सालदेखि २०५० सालसम्म निक्कै ठुलो समस्याको सामना गर्नुपर्यो । त्यसपछि सशस्त्र द्धन्दले गर्दा उठ्नै नसक्नेगरी थला पर्यो ।

गुँठीको अध्यक्षमा सिडियोले आफ्नो नेतृत्व गर्दै आएकोमा २०५१ सालमा जनस्तरबाट अध्यक्ष छान्न थालियो । गुँठिको गतिबिधि द्धन्द कालमा पुर्ण बन्द नै भयो । त्यो बेला पार्टीले गुँठी चलाएको अनुभव पौडेलको छ ।   ‘२०५१ सालपछि २०६८ सालसम्म गुँठीका गतिबिधिहरु निश्क्रीय भयो, आयश्रोत केही थिएन, पौडेलले भन्नुभयो, बिचमा बनेको समितिले राम्रो काम गर्न सकेन ।’

नमुना माबि 
सर्बसाधारणको लागि भनेर नेपालमा खुलेको पहिलो संस्कृत पाठाशाला अहिले नमुना बिद्यालयको रुपमा अघि बढेको छ । भौतिक संरचना निमाणको कामले गतिलिएको छ ।  बि.सं. २०७५ सालसम्म जिर्ण अबस्थामा रहेको बिद्यालय २०७५ सालपछि नमुनाको रुपमा पायो । कक्षा  ६ देखि १० सम्म मात्र पढाउने अनुमती प्राप्त गरेको बिद्यालयमा   पुर्ण रुपमा कक्षा १ देखि १२सम्म पढाई हुन्छ । २०७५ सालमा १ करोड ५० लाख संघीय सरकारले नमुना बिद्यालयको रुपमा छनौट गरि उपलब्ध गराएको थियो । त्यो अनुसारको काम गरेर सकिएपछि कामको मुल्यांकनको आधारमा ४७ लाखको  थप रकम कर्मचारी शिक्षकहरुको लागि प्रप्तभयो । त्यसबाट आन्तरिक श्रोकका शिक्षकहरुलाई सहज भएको बिद्यालय ब्यवस्थापन समितिले जनाएको छ ।  प्रदेश सरकारले हरेक बिद्यालयमा ई एजुकेशनको अबधारणा ल्याएपछि यो कार्यक्रम पनि बिद्यालयमा पुग्यो । बिभिन्न चरणमा गरि करिब २० लाखको हाराहारीमा  रकम यो बिद्यालयले प्राप्त गरिसकेको छ । प्राप्त रकम ई एजुकेशनको लागि खर्च हुँदै आएको छ । संघीय सरकारको नमुना बिद्यालय कार्यक्रम अनुसार ५० लाखको शौचालन निर्माण काम भईरहेको छ । १ करोड रकम भने  बिभिन्न  कारणले गर्दा समयमा टेण्डर नलगाउने र समितिलाई पनि काम गर्न नदिँदा नगरपालिकाको कारण फिर्ता भएको ब्यवस्थापन समितिका अध्यक्ष केशब श्रेष्ठले गुनासो गर्नुभयो ।

संस्कृत शिक्षाको रुपमा पहिचान बनाएको विद्यालयले अहिले प्रबिधिको विकाससँगै फड्को पनि मारेकोछ । अहिले कम्प्युटरको प्रयोगबाट शैक्षिक गतिबिधि शुरु भएको छ भने अब प्राबिधिक शिक्षालाई पनि जोड दिँदै अघि बडेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । संस्कृत शिक्षालाई पहिलाकै अबस्थामा ल्याउने र अहिलेको आबश्यकतालाई पुरा गर्नको लागि प्राबिधिक शिक्षा र बहुभाषिक शिक्षा समेत संचालनको तयारीमा रहेको श्रेष्ठको भनाई छ ।

जीर्ण छात्राबास

वटुकहरूका लागि खाने तथा बस्ने छात्रावासको व्यवस्था रहेको भए पनि छात्रावास जीर्ण बनेकोले समस्या देखिएको छ। त्यो छात्राबासमा अहिले बिद्यार्थी बस्दैनन्  । गुरुकुलमा संस्कृत पढ्ने बिद्यार्थी  १२ जना पुरानो पाठाशाला अगाडीको गुठीको हलमा बसेर अध्ययन गर्दै आएका छन्  । पुरानो पाठाशाला र  छात्राबासको लागि मर्मत संम्हार गर्ने भन्दै पुरातत्व विभागले डिपिआर गरेको भएपनि कुनैकाम अघि नबढेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

खोजीमा गुँठीको जग्गा

षडानन्द सीताराम गुँठीको नाममा कति जग्गा छ, कसले भोग चलन गरेको छ भन्ने लेखाजोखा कसैसँग पनि छैन । तर बिगत २ बर्षदेखि त्यसको सोधीखोजी शुरुभयो । जग्गा खोजी गर्ने क्रममा २०७६ फागुनसम्ममा ९ सय रोपनी गुँठीको नामको जग्गा नापी भईरहेको छ । करिब एक हजार २ सय रोपनी नापीमा छुट भएको हुनसक्ने अनुमान रहेको षडानन्द गुँठीका अध्यक्ष पौडेलको भनाई छ ।  त्यस्तै नापी भएको र गुठीको नाममा रहेको केही जमिन पत्ता लगाउने काम पनि भईरहेको छ ।  ब्यक्तिको नाममा भोगचलन गरेको २५ रोपनी जग्गा फेला पारेको र ५ सय रोपनी त्यस्ता जग्गा हुनसक्ने अनुमान पौडेलको छ ।

‘१८ सय रोपनी गुठीको नाममा रहेको भन्ने तथ्यांक भेटिएको छ । तर कहाँ र कसरी छ भन्ने खोजी भईरहेको छ, पौडेललले भन्नुभयो, अहिलेपनि अरुण माध्यामिक बिद्यालय र षडानन्द माध्यामिक बिद्यालयपनि गुठीको जग्गामा नै रहेको छ ।’

पुजारी र परिचरको पारिश्रमिक पनि गुँठीले नै ब्यहोर्दै आएको छ ।  मन्दीरमा गर्नुपर्ने सबै ब्यवस्थापनको काम गुठीले गर्ने गरेको छ ।  गुठी परिसरमा रामचन्द्र, नर्मदेश्वर, शिवालय र पशुपतिका चारवटा मन्दिर जीर्ण अवस्थामा छन् । यहाँको मन्दिरमा साउनदेखि कात्तिकसम्म चौमासा पुराण लाग्दै आएको छ । यो चौमासा पुराण हरिसयनी एकादशीदेखि हरीबोधनी एकादशीसम्म  लगाईन्छ । चौमासा पुरण भनेको चार महिनासम्म निरन्तर पुराण लाग्ने भएकोले चौमासा भनिँदै आएको त्यहाँका स्थानीय बताउँछन्  ।

ब्रम्हाचारी षडानन्द गुरुले बनाएको मन्दिर भग्नाबशेष मात्र रहेको छ । तर ढुङ्गाको झ्याल र ढोका भने सुरक्षित छ ।

पुरात्व बिभागसँग उत्खनन्को माग गरिएको  उहाँले बताउनुभयो ।  ‘भग्नाबशेष मन्दिरलाई पुरानै शैलीमा बनाउनु पर्छ भनेर खोजी गर्ने काम भएको छ, पौडेलले भन्नुभयो त्यो बेलाको मन्दीरहरु कुन कुन थिए, त्यसको आकार कस्तो थियो भनेर खोजी गरेर त्यही शैलीमा निर्माण गर्ने भनेका छौँ ।’  स्थानीय सरकारले गुठीको स्वामित्वमा रहेको सबै जग्गा जमिन ल्याउन पहल गर्न पौडेलको आगं्रह छ ।



No comments:

Post a Comment