2018-02-12

पटके ठेक्कापट्टाले रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणको काम सुस्त

सुमन तिमल्सिना

मोरङ, माघ २९ – रानीदेखि विराटनगर हुँदै इटहरी–धरानको लामो सडक योजनाको काम सुरु भएको वि. स. २०७० सालदेखि नै हो । यही समयमा सुरु भएको भैरहवा–बुटवल–कोहलपुर–नेपालगञ्जलगायतका क्षेत्रका कामहरु अन्तिम चरणमा पुगिसकेका छन् । तर रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजनाको काम भने कछुवाको गतिमा भएको छ ।
रानीको भन्सार यार्डदेखि सुरु भएको सडक विस्तारको काममा ढिलाइ भएको हो । रानीदेखि ३ किलोमिटर उत्तरसम्म आशिष रोयल एपेक्स जेभी ८० प्रतिशत काम पूरा भएको छ । यसको लगानी ५९ करोड ९८ लाखको लागतमा वि.स. २०७२ असारदेखि वि.स. २०७५ असारसम्मको सक्ने लक्ष्यसहित निर्माणको ठेक्का पाएको थियो । रानीको ३ किलोमिटर माथिदेखि उत्तर थप ३ किलोमिटर कालिका कान्छाराम जेभीले ठेक्कामा लिएको थियो  ।
६१ करोड ४७ लाखको लागतमा २०७२ साल असारदेखि २०७५ साल असार मसान्तसम्मको सक्नु पर्ने छ । यसको प्रगति जम्मा ५५ प्रतिशत मात्र पूरा भएको सडक परियोजनाको कार्यालयले जनाएको छ । रानीदेखि ३५ किलोमिटरसम्मको टेण्डर लागिसकेको छ । त्यसमा दुहबी बजारमा डेढ किलोमिटरको टेण्डर लाग्नै बाँकी छ । ६ अर्बको सम्झौतामा  यस वर्ष जम्मा ५९ करोड रुपैयाँ मात्र निकासा भएको छ ।
६ लेन सडक परियोजनाको काम अहिले रकम अभावमा रोकिने अवस्थामा पुगेको छ । हालसम्म ६ अर्ब ५० करोड रुपैयाँको ठेक्का सम्झौता भइसकेको छ । अहिले ठेक्का लागेका स्थानमा निर्माणको काम भइरकेका छन् ।
तर यही बेलामा रकम अभाव देखिएको परियोजनाका इञ्जिनियर सुमोद पोखरेलले जानकारी दिनुभयो । गएको वर्ष पनि रकम निकासामा ढिला हुँदा २ महिना काम रोकिएको थियो । ठेक्का सम्झौता भएको ६ अर्ब ५० करोड रुपैयाँमा १ अर्ब २५ करोड रुपैयाँ रकम मात्र खर्च भएको छ ।
यो वर्ष जम्मा नेपाल सरकारले ५९ करोड रकम निकासा गरेको छ । यही अनुपातलाई आधार मान्दा रानी–विराटनगर–इटहरी–धरानको काम सक्न १२ वर्ष लाग्ने इञ्जिनियर पोखरेल बताउनुहुन्छ  । अहिलेसम्म काम नरोकिएको भए पनि तत्काल रकम निकासा नहुने हो भने अबको एक महिना भित्र काम रोकिने अवस्थामा पुगेको उहाँले बताउनुभयो । 

यसरी काम हुँदैछ 

महेन्द्रचोकदेखि बरगाछी : यो सडक तुन्दिरमण जेभीले  वि. स. २०७३ असोजदेखि २०७५ वैशाखसम्म सक्ने गरी ५२ करोड ६० लाख रुपैयाँको लागतमा निर्माणको काम ठेक्कामा लिएको हो । यसको काम अहिले तीव्र गतिमा भइरहेको छ ।
बरगाछी–एयरपोर्ट मोड : यो सडक खण्ड १ दशमलव ५ किलोमिटर  रहेको छ । कञ्चनजङधा पिएस गिताञ्जली जेभीको ठेक्कामा २ करोड ३२ लाख रुपैयाँको लागतमा वि. स. २०७० असार २७ गतेदेखि २०७४ असोजसम्म सक्ने गरी ठेक्का सम्झौता भएको थियो । २ पटक म्याद थप गरेर पनि म्याद सकिएको हो ।
एयरपोर्ट–डीडीसी : ढुकुछु कान्छाराम डिम्डुङ जेभीले काम थालेको वि.स. २०७० साल असार २७ गतेदेखि नै हो । तर त्यसको म्याद थप गरेर पनि वि.स. २०७४ असार समान्तमा सकिएको छ । तर त्यो काम अझ पूरा हुन सकेको छैन ।
बरगाछी–डीडीसी (नाली निर्माण) : – बरगाछीदेखि दुग्ध विकास संस्थानसम्मको नाली निर्माणको ठेक्का पनि सकिएको छैन । १४ करोड १५ लाखको लागतमा वि. स. २०७१ माघ देखि २०७४ असोजसम्मको लागि सम्झौता भएकोमा अहिले करिब ७० प्रतिशत मात्र प्रगति देखिन्छ । एआइपिएल पप्पु जेभीले यो कामको ठेक्का लिएको थियो । समयमा नै काम नसक्दा यो ठेकेदार कम्पनी पेनाल्टीमा परेको छ ।
अब यो कम्पनीले जरिवाना वापत १ करोड ३० लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने रानी–विराटनगर–इटहरी परियोजनाले जनाएको छ ।
डीडीसी–नेमुवा नहर : यो सडकको ठेक्का सम्झौता अनुसार ३ प्याकेजमा लगाइएको छ  । ४ किलोमिटर २ प्याकेज र बाँकी एक प्याकेजमा सक्ने गरी ठेक्का सम्झौता भएको हो । यो सम्झौता अन्तर्गत डीडीसी–टंकी, टंकी–बाँसवारी र बाँसवारी–नेमुवा गरी ३ प्याकेजमा काम सुरु भएको छ ।
टंकी–बाँसवारी सडक खण्डको काम पनि तीव्र पारिएको छ । शर्मा कान्छाराम जेभीले २०७१ साल माघदेखि २०७५ असार मसान्तमा सक्ने गरी सम्झौता गरेको छ । ९० करोड ८२ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको सडकको काम ४० प्रतशत सकिएको छ ।
बाँसवारी –नेमुवा सडकको निर्माणको ठेक्का कान्छाराम कन्ष्ट्रक्सनले पाएको छ । यो सम्झौता सुरु भएको बल्ल १ महिना बितेको छ । ३१ करोड रुपैयाँ लागतमा निर्माण सुरु भएको कामको सम्झौता वि. स. २०७७ सालमा सकिने छ । यसको दूरी १ दशमलब १८ किलोमिटर छ ।
दुहबी बजार : सुनसरीको दुहबी बजारका काम अघि बढ्न सकेको छैन । यसको दूरी डेढ किलोमिटर रहेको छ । स्थानीयले सडकमा निर्माण गरिएको घर भत्काउने विषयमा विवाद हुँदा ठेक्का सम्झौता नै हुन सकेको छैन ।
दुहवी–ईटहरी : यो सडक तुम्दीरमण जेभी जनकपुरको ठेकेदार कम्पनीले ९ दशमलब ६ किलोमिटर निर्माण गर्ने गरी ठेक्का पाएको छ । १ अर्ब ६९ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने समय वि. स. २०७५ चैतसम्मको म्याद दिइएको छ । यसमा म्याद थपिने सम्भावना बढी देखिन्छ । यसको उपलब्धि बल्ल ३० प्रतिशत देखिन्छ । यो ठेक्काको सम्झौत अवधि ३० महिनाको हो । 
इटहरी–तरहरा : यो सडकखण्डा सबैभन्दा चौडा सडकको रुपमा स्थापित हुनेछ । यो सडक खण्ड २ प्याकेजमा निर्माण पूरा हुने परियोजनाले जनाएको छ । इटहरी–आमगाछी सडक साढे २ किलोमिटर स्वच्छन्द काज्छाराम शैलुङ जेभीले ९१ करोड रुपैयाँको लागतमा वि. स. २०७६ चैतसम्ममा सक्ने लक्ष्य राखेर काम अघि बढाएको छ । यसको २०७४ साल असोज देखि ठेक्का सम्झौता सुरु भएको हो । 
आमगाछी–तरहरा सडकखण्ड पनि साढे २ किलोमिटर नै रहेको छ । यसको ठेक्का आशिष–सन्तोषी लुम्बीनी जेभीले पाएको छ । २०७४ कातिकदेखि ठेक्का सम्झौता भएको यो सडक २०७७ वैशाखसम्म सम्पन्न गरिसक्नु पर्ने छ । यो सडक ८९ करोड १० लाख रुपैयाँको लागतमा सम्झौता भएको हो । 

इटहरी–तरहरा ४० मिटर चौडा

इटहरी तरहरा सडक ४० मिटर चौडा हुने छ । ग्रिनबेल्ड सर्भिस लेन सकित २०/२० मिटर सडक लेन बनाउने योजना अनुसार काम अघि बढेको छ ।  आर्थिक वर्ष २०७५/०७६ सम्मको परियोजनाको समयसीमा रहेकोमा अझै १४ किलोमिटर टेण्डर  गर्नै बाँकी रहेको छ । एकै पटक टेण्डर आह्वान गरेको भए सजिलो हुने थियो तर विभिन्न किस्तामा टेण्डर गर्दा समस्या आएको परियोजनाका अधिकारीहरु बताउँछन् ।
परियोजना आफ्नै तालले अघि बढेको छ । ‘पटके ठेक्कापट्टाले गर्दा समस्या छ, इञ्जिनियर पोखरेलले भन्नुभयो, ‘सडक सीमा विवाद, विद्युत लाइन व्यवस्थापन चाँडो हुन नसक्नु, रुख कटानमा ढिलाई भएकाले अप्ठ्यारो भएको हो ।’

No comments:

Post a Comment