2016-07-18

‘बिहेमा जाँदै थिएँ छोरी गुमाएँ’

सुमन तिमल्सिना/उज्यालो । 

विराटनगर, - ‘बिहीबार बेलुका घरबाट निस्किँदा छोरी निक्कै खुशी थिइन् मामाको घरमा बिहेमा जाने भएर पनि होला । घरका सबै जना मोरङ दर्बेसाको रजनीमा हुन लागेको दाइको छोरीको बिहेमा सहभागि हुन हिडेका थियौँ ।’ 
धनुषा तुलसीपाटु-७ की ३५ वर्षकी निरु बस्नेतले बिराटनगरको लाइफ गार्ड अस्पतालमा उपचारको क्रममा उज्यालोसँग कुरा गर्दै गहभरी आँसु पार्नुभयो । उहाँले बस दुर्घटना हुँदा आफ्नी छोरी १० वर्षकी निर्जला बस्नेतलाई गुमाउनु भएको हो ।
‘राती सवा एक बजेसम्म हामी लालगढमा थियौँ त्यहाँबाट प्रहरीले स्कर्टिङ गरेर गाडी ल्याएको थियो ।’ उहाँले सवारी दुर्घटना हुन भन्दा अघिको कुरा जानकारी गराउँदै भन्नुभयो, ‘लहान कटेपछि चालकले अत्याधिक गाडी दौडाउन थालेको थियो । बरमझिया कटेपछि अगाडी भएका गाडीलाई ओभरटेक गर्दै ड्राईभरले बस दौडाई रहेको थियो ।’ 
‘पहिला नै डरडर लागि रहेको थियो, त्यो बेला म पनि निदाउन लागेकी रहेछु गाडी एक्कासी कोल्टे परेजस्तो लाग्यो त्यो बेला गाडी ३ बल्ड्याङ तल झरिसकेको रहेछ , सँगै रहेकी छोरीलाई तान्न थालेकी छोरीलाई निकाल्न सकिँन त्यही बेला छोरीको ज्यान गइसकेको रहेछ ।  दाईको छोरीको बिहेमा हिँडेकी मैले आफ्नो छोरी गुमाउनु पर्‍यो के यस्तो आइपर्‍यो ?’ घाइते बस्नेतले गहभरी आँसु पारेर आफ्नो पीडा सुनाउनुभयो । 
यो घटना सप्तरीमा शुक्रबार बिहान भएको बस दुर्घटनाको हो । उहाँको छोरी निर्जला बस्नेत सहित दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । २४ जना घाइते भएका छन् । सिन्धुलीबाट काँकडभिट्टा जाँदै गरेको ना ५ ख १६६४ नम्बरको बस सप्तरीको भारदह नजिकै कोशी ब्यारेज सडकखण्डमा दुर्घटना भएको हो । 
दुर्घटनामा परी सनाखत हुन नसकेको अन्य २ जना पुरुषको पनि ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ । दुर्घटना स्थलमा एकजना ३०/३५ वर्षका पुरुषको ज्यान गएको छ । भने उपचारको क्रममा धनुषा तुलसी पाटु-७ की निर्जला बस्नेत र उपचार कै क्रममा गोल्डेन अस्पतालमा सनाखत हुन नसकेका एकजनाको ज्यान गएको सप्तरीका प्रहरी निरीक्षक नारायण चिमोरियाले जानकारी दिनुभयो । 

No comments:

Post a Comment