सुमन तिमल्सिना
विराटनगर
घरमा दुई तिर दुईजना सुतिरहेका छन्, कोही कराई रहेका छन् कोही आईया... अईया भनी रुँदै कराउँदै गरेका । त्यही भित्र अर्को एकजना हातको ईरासामा यता उती हल्लीँदै गरेको, कहिले के भन्न खोजेको जस्तो कहिले के बोल्न खोजेको जस्तो । त्यही बिचमा त्यो घरमा भएकी एकजना दिदी घरको दलानमा सुति रहनु भएका कपाल सेतै फुलेको अनी उमेर पनि झण्डै ७० काटिसक्नु भएकी आमालाई पानी खुवाउँदै हुनुहुन्थ्यो ।
हो उहाँले नै स्याहार गर्नु भएको तिनैजनाको । कुरा बैशाखको ११ गते, बिहानको करिब ११ः४५ बजेतिरको हो । यस्तै परिस्थीतीबाट यो परिवार गुज्रिएको लामो समय भईसकेको छ । बिराटनगरबाट झण्डै २२ किलो मिटरको दुरीमा रहेको रहेको कोशी हरैचा नगरपालिका ३मा रहेको यो केदार गौतमको परिवार पिडा माथिको पिडामा छचल्कीएर रुमल्लीएको छ । गौतमकी जेठी छोरी तारा गौतम जन्मजात बोल्न र सुन्न नसक्ने बौद्धिक अपाङग हुनुहुन्छ, उहाँ जन्मेको २०१८ सालदेखि नै यस्तै अबस्थामा हुनुहुन्छ । 

त्यती सम्म पनि सहेर बसेका ८२ बर्षिय केदार गौतम माघमा श्रीमती प्रेमकुमारी गौतमलाई प्यारालाईसीस भएपछि भने भक्कानिँदै ८२ बर्षिय केदार गौतम भन्दैछन्, खै के आईलाग्यो–लाग्यो । आर्थिक अबस्था कमजोर भएको गौतम परिवारमा अहिले तिनजना तिनतिर बिभिन्न कारणले थलिएका छन् । त्यो थलाई कम गर्ने उपाय गौतम परिवारमा छैन । ८२ बर्षिय बृद्ध उमेरमा कमाउन जाउँ कहाँ जाने कसले काम दिने अनी कसरी जहान परिवारको उपचार गर्ने भन्ने चिन्ताले सताएको छ, यो परिवारमा ।
बर्षौ देखि गोठको बासटाढाबाट देखिने टिनको घर, वरीपरी ठुला ४÷५ तलेघरहरु बनेका छन् । नजकैबाट मान्छेहरुको आवत जावत भएको प्रसस्तै देखिन्छ । मान्छेहरुको धेरै आवत जावत भएपनि यो गौतम परिवारमा बर्षौ सम्मपनि कसैको ध्यान पुगेन । सानो टिनको घर, घरमा दुई छोरा बुहारी छुट्टीएका छन् । केदार गौतमका २ छोरा र दुई छोरी थिए सन्तानको नाममा । भएका दुबै छोरी अहिले एउटा बोल्न र सुन्न नसक्ने छिन भने कान्छीछोरीको मानशिक सनतुलन गुमेको छ । त्यही सानो घरको दलानमा गौतमकी श्रीमती प्रेमकुमारी गौतम प्यारालाईसिस भएर डङरङग भुईमा पल्टीनु भएको छ । अर्को छेवैमा जेठी छोरी तारा आफ्नै तालमा हुनुहुन्छ, अनी कान्छी गाई गोठमा दिन बिताउँदै हुनुहुन्छ ।
गाईको गोठमा पुर्वपटि गाई बाँधिएको छ । त्यही गाई बाँधेको छेवैमा एउटा खाट राखिएको छ, त्यसको बिचमा एउटा बाँसको टाटीले बेरेर रुपालाई यही गाई गोठमा राखिएको छ । हिँड्ने डरले त्यही गोठमा पनि रुपा नभागुन् भनेर ढोका लगाईन्छ । यसरी नै उहाँको जिवन ब्यतित भएको २०४७ साल देखि यसैगरी बिति सकेको छ । तर यस्तो अबस्थामा पनि उहाँको श्रीमान कहाँछन् कसो गर्छन् घर परिवार कसैलाई पनि थाहा छैन । २०४५ साल तिर विवाह गर्दाको समयमा यो गौतम परिवार भारतको आसाममा बस्दै आएको थियो । आसाममा नै हुँदा उहाँको विहे नागाल्याण्डको बाहुन आएपछि विवाह गरेर दिएको यो परिवार बताउँछ । विवाह गरेर दिएपछि पनि २ वटा छोरा छोरी रुपाका भएका थिए । तर ति छोराछोरी कहाँ छन् भन्ने सम्म यो परिवारलाई थाहा छैन । तर अप्ठेरो अबस्थामा भने दुःख सुख परिवार चलाउनु परेको उनीहरु बताउँछन् । केदारका कान्छोछोरा नारायण गौतम भन्छन्, सबैतिरबाट गाँजेपछि काम पनि छाडेर बस्नु प¥यो थप भार बढ्दै गएको छ, सहयोगी हात कतै पाईएन ।
उपचार गराउनको लागि पर्याप्त सम्पतिको अभाव, भएको सम्पती भनेको एउटा घर र घडेरी मात्र छ । त्यो बेचेर उपचार गराउने हो भने भोलीको लागि बस्ने बास खोज्न कता जाने अनी यतिकैको भरमा बस्ने की उपचार गराउने भन्ने अन्यौलमा रहेको गौतम परिवार । त्यसमा स्थानीयको सहयोग नभएको पनि हैन तर आर्थिक सहयोगको आश्वासन बाहेक केही आएन । छिमेकी हिमकर्ण महत भन्नुहुन्छ, पारिवारिक अबस्था कमजोर भएको कारण अहिले यो अबस्थामा निक्कै गाह्रो परेको छ ।
गरिबको आश, ज्युदो रहँदा सम्मको स्वास कसलाई पो मायाँ हुँदैन र ? तर त्यो यथार्थ भन्दा अलक पृथक अबस्थामा गुज्रिंएको यो परिवारलाई अहिले सहयोगको खाँचो छ । केही गर्न नसकेपछि गोठमा बर्षौ बिताएकी रुपालाई सद्दे पार्न पाए हुन्थ्यो भन्ने मै छ ।
अझै आशाको दियो बाँकी नै
चार महिना देखि ओछ्यानमा थलिएकी जहान्, लामो समय देखि गोठमा आफै बर्बराउँदै गरेकी कान्छी छोरी, अनी हातको ईसारामा के बोल्दै छु या के खाँदै छु भन्ने समेत थाहा नपाउने जोठी छोरीको पिडाले केदार गौतमको मनमा गढेको काँडो खिल परि सकेको छ । उनी मनको पिडा ओकल्न खोज्छन् तर भन्न सकिरहेका छैन् । उनी गहभरी आँसु पार्दै केसैले सहयोग गरिदिए हुन्थ्यो भन्न त खोज्छन् नै तर गर्ने कसले ?
महिलाको नाममा काम गर्ने संघ संस्थाहरु कोही पनि यो घरमा पुगेनन्. । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी संयन्त्र महिला तथा बालबालिका कार्यालयलाई यो बिषयमा थाहा सम्म छैन । तर यस्ता घटना मानव अधिकारका बिषयसँग पनि जोडिएर आउने गरेको छ । यस्ता बिषयमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यक्रय बिराटनगरका निर्देशक कोषराज न्यौपानेले यो बिषयलाई केन्द्रसँग कुरा गरेर केही गर्न सकिने प्रतिक्रिया दिनुभयो ।
मानव अधिकारको हिसावमा यो बिषयले स्थान पाएपनि ब्यवहारत यस्ता बिषयलाई महिला विकास कार्यालय गम्भीर रुपमा लिनु पर्ने हो । उपचारका लागि बिभिन्न निकायहरुले यस्ता रोगीहरुको लागि उपचारको निशुल्क ब्यवस्था मिलाउने गरेको भएपनि कहाँ र कसरी हुन्छ भन्ने बारेमा धेरै अन्यौल नै छन् । तर अप्ठेरो अबस्थामा परेको गौतम परिवारलाई यो बेला सहानुभुती भन्दापनि सहयोगको खाँचो देखिएको छ ।
No comments:
Post a Comment